काठमाडौं । सभामुख सापकोटाले निजी क्षेत्रका सुझावलाई कार्यान्वयन गर्न सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५६औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०७८ को सोमबार उद्घाटन गर्दै उनले आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोगविना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको उनको भनाइ थियो । मुलुकको अर्थतन्त्र, रोजगारी, पुँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । साथै उनले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधैँ सहयोग रहने विश्वास दिलाए । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यस आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा ठूलो उत्साह र माग सिर्जना हुँदै आएको बताए ।
कोभिडपछि केही साना, मझौला, पर्यटन र मनोरञ्जन क्षेत्रबाहेकका उद्यमहरू बिस्तारै तंग्रिन थालेको उनको भनाइ थियो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सेयर बजार, घरजग्गा, उत्पादनमूलक उद्योग र दैनिक उपभोग्य सामानको आयातमा माग अत्यधिक देखिएको उनले बताए । उनका अनुसार वित्तीय क्षेत्रबाट निक्षेपको करिब तीन गुणा बढी कर्जा प्रवाह भयो । पहिलो पाँच महिनामा ५ दशमलव ११ प्रतिशतले वृद्धि भएको अर्थतन्त्र अहिले संकुचित हुन थालेको उनले बताए । सरकारी लक्ष्यअनुसार ७ प्रतिशत वृद्धि हुन कठिन देखिएको उनको भनाइ छ । तीव्र मागलाई अर्थतन्त्रको संरचनाले थेग्न नसकेको उनले बताए । ‘हाम्रो अर्थतन्त्र क्षमता नै सानो छ । हामीले सम्पत्ति निर्माणमा कहिल्यै जोड दिएनौँ । वितरणलाई राजनीतिक उपलब्धिको मानक मान्यौँ । राजस्व उठतीलाई सफलता मान्यौँ’, उनले भने, ‘निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्र हेरियो । विकासको साझेदार मान्न सकिएन । निजी क्षेत्रलाई सम्पत्ति निर्माण गर्ने बलियो खम्बाका रूपमा लिन सकेनौँ ।’
पुँजी निर्माणमा ७७ प्रतिशत र रोजगारीमा ७५ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई सरकारले उपेक्षा गरेको उनको गुनासो छ । पछिल्ला दुई वर्ष कोभिड पुनरुत्थानका लागि केन्द्रीय बैंकमार्फत प्राप्त सहयोगले निजी क्षेत्रलाई तंग्रिन सहज भए पनि पछिल्लो समय देखिएको तरलता अभावपछि भएका निर्णयले अन्योल सिर्जना गरेको उनले बताए । यस्तै उनले उद्योगहरूमा बिजुली काटिन थालेको बताए । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौँ भन्छौँ तर एकाएक उद्योगहरूमा बिजुली काटन थालियो’, उनले भने, ‘अहिले केही सस्तोमा बिजुली आयात त हुन थालेको छ । तर उद्योगलाई सहज भएको छैन । पिक आवरमा विद्युत्मा भइहने अवरोधले जेनरेटर नचलाई सुख छैन ।’
यस्तै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले निजी क्षेत्रसँग पनि छलफल गर्नुपर्ने बताए । अर्थतन्त्र सुधारको नाममा आयातलाई प्रतिबन्ध गरी राख्ने हो भने गैरकानुनी आयात हुने सम्भावना बढ्ने र त्यसले मध्यम र दीर्घकालीन संकट निम्त्याउने उनको भनाइ छ । दीर्घकालीन रूपमा संकट रोक्न मुलुकभित्र लगानीको अवसर सिर्जना गरिनुपर्ने उनले बताए । ‘लगानी भयो भने उत्पादन हुन्छ । उत्पादनले रोजगारीको माग गर्छ । प्रतिस्पर्धी उत्पादन गर्न सकियो भने निर्यात हुन्छ’, उनले भने, ‘यसमा सहुलियत दिन सकियो भने बजार बढ्छ । विश्वबजारमा माग बढ्दा थप अवसर सिर्जना हुन्छ । मुलुकको सम्पत्तिमा बढोत्तरी हुन्छ । सम्पत्ति बढ्यो भने सामाजिक न्यायसहितको खुला अर्थव्यवस्था मजबुत हुन्छ ।’
सरकार र निजी क्षेत्र मिलेर नेपालमा लगानीको वाताबरण बनाउने हो भने धेरै समस्याको समाधान समाधान हुने उनले बताए । उनले भने ‘हामीले विस्तृत अध्ययन गरेका छौं, कार्यान्वयनमा सहकार्य गरिदिनुहोस् । हामी लगानी गर्छौँ, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौँ, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस् ।’
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ५७ प्रतिशत काम गर्न सक्ने उमेरसमूहका जनता रहेको नेपालसँग जनसांखिक लाभको अधिक सुविधा रहेको बताए । अवका केही वर्षहरूभित्र यसको भरपुर उपयोग गर्न सकेनौँ भने हाम्रा लागि अझ बढी कठिनाइका दिन आउने उनको भनाइ छ । यस्तै उनले यो अवसरलाई सदुपयोग गर्ने वातावरण बनाई दिन सभामुखसँग आग्रह समेत गरे । सो अवसरमा महासंघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका सदस्य संघसंस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । समुद्घाटनपश्चात् प्रतिस्पर्धी उत्पादनमूलक उद्योग, लगानी प्रवर्द्धन, तरलताका विषयमा विषयगत छलफलहरू आयोजना गरिएको थियो । (आर्थिक दैनिकबाट)