झापा । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले दक्षिण कोरिया जाने श्रमिकसँग अवैधरुपमा रकम असुली गरेको पाइएको छ । दक्षिण कोरियाको गोयन्कु काउन्टीसँगको सम्झौताअनुसार नगरपालिकाले गत मंसिर २९ गते १६ जना मौसमी कृषि श्रमिक दक्षिण कोरिया पठाएको थियो ।
नगरपालिकाले श्रमिकहरुलाई कोरिया नगरप्रमुख पोखरेलकै मिलेमतोमा प्रतिव्यक्ति तीन लाख ८० हजार रुपैयाँका दरले रकम असुली गरेको पाइएको हो । सम्झौताअनुसार कोरिया जान दुई सय १६ जना श्रमिक छनोट भएको थियो । जसमध्ये १६ जना मौसमी श्रमिकको भिसा आएपछि उनीहरू कोरिया गएका थिए । नगरप्रमुख पोखरेलले काउन्टीसँग सम्झौतामा सहयोग गर्ने जिम्मेवारी सुशील मैनालीलाई दिएका थिए ।
पोखरेल र मैनालीको योजनामा भिसा लागेका १६ जनाले तीन लाख ८० हजार रुपैयाँका दरले रकम बुझाएपछि मात्रै उनीहरूलाई कोरिया उड्ने बाटो खुलेको थियो । उनीहरूले ‘विड इन्टरप्राइजेज’ नामको कम्पनीलाई उक्त रकम बुझाएका हुन् । मंसिर २९ गते कोरिया गएमा श्रमिकमध्ये कनकाई नगरकै दिनेश न्यौपाने अहिले आफ्नै खर्चमा नेपाल फर्किएका छन् । जाने बेलामै झमेला झेलेका न्यौपाने फर्किएपछि आफ्नो पैसा फिर्ताको ग्यारेन्टी खोजी रहेका छन् । उनका अनुसार कोरिया जाने बेलामा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको श्रम डेस्कले श्रम स्वीकृति नभएको बताएर श्रमिकहरूलाई रोकेको थियो । तर, अध्यागमन विभागले अनुमति दिएपछि श्रमिकहरू कोरिया जान सफल भएका थिए ।
कोरियामा स्वास्थ्य परीक्षण गर्दा फेल भएपछि घर फर्किएका न्यौपानेले भने, ‘डिसेम्बर १५ मा हामी उडेका हौँ । जाँदा टिकटको ८० हजार रुपैयाँ त्यही तीन लाख ८० हजारबाट कटौती भयो । अरु पैसा फिर्ता दिइएन ।’ न्यौपानेले भेरोसेल खोप लगाए पनि आफूहरूलाई जोनसन एन्ड जोनसन खोप लगाएको कागज थमाएर कोरिया पठाइएको बताए । नगरप्रमुख पोखरेलले श्रमिकलाई कोरिया पठाउँदा सबै प्रक्रिया मध्यस्थकर्ताले मिलाएको बताए । अरु विषयमा बोल्न चाहेनन् । उनले सम्झौता भएको र १६ जना श्रमिकलाई कोरिया पठाएको बताए ।
छानबिन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस कनकाई नगर कार्यसमितिले अवैधरुपमा रकम लिएको विषयमा नगरप्रमुख पोखरेलको संलग्नताबारे छानबिनको माग गरेको छ । नगर सभापति दुर्गाप्रसाद प्रसाईँ, सचिवद्वय रेणुप्रसाद कँडेल र दीपक खतिवडाले विज्ञप्ति जारी गरी मौसमी कृषि प्रशिक्षार्थीको रुपमा दक्षिण कोरिया पठाइएका प्रशिक्षार्थीमध्ये कनकाई–८ का दिनेश न्यौपाने फर्किएर आएपछि उनीहरूसँग रकम लिएको खुलेको भन्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन् । ‘सम्बन्धित पक्षसँग सर्वपक्षीय छानबिन समिति गठन गरी विस्तृतरुपमा सम्पूर्ण कागजात र प्रक्रियाको छानबिन गर्न र सत्यतथ्य पत्ता लगाई दोषी ठहर भएमा कारबाही प्रक्रिया अघि बढाउन माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कृषक पठाउने प्रक्रियामा पैसा धेरै लिएको, अनाधिकृत रुपमा धनीपुर्जा राख्ने कार्य गरिएको प्रति कांग्रेसले आपत्ति जनाएको छ । नगरपालिका आफैँले नगरकै कागजपत्रमा नगरप्रमुखको सहीछाप समेत गरी श्रम स्वीकृति नलिई कोरिया पठाइएको, अन्य व्यक्तिहरुका नाममा रकम जम्मा गर्न लगाइएको र सो प्रक्रियामा लाग्ने वास्तविक खर्चको प्रमाण नभएको जस्ता कुराहरुले गर्दा नगरप्रमुख नै उक्त कार्यमा प्रत्यक्ष संलग्न भएको देखिन आएको कांग्रेसको दाबी छ ।
नगरप्रमुखमाथि छानबिन होस् : एमाले
नेकपा एमालेले पनि नगरप्रमुख पोखरेलमाथि छानबिनको माग गरेको छ । एमालेका एक जिल्ला नेताले भने, ‘नगरप्रमुख पोखरेलबारे पार्टीमा समीक्षा होस् । उनीमाथि छानबिन होस् । प्रारम्भिक विवरण हेर्दा नगरप्रमुख पोखरेल दोषी देखिन्छन् । उनले राजीनामा दिएर छानबिनका लागि बाटो प्रशस्त गर्नुपर्छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले १६ जना श्रमिकबाहेक अन्य श्रमिकसँग पैसा लिए–नलिएको विषयमा पनि छानबिनको माग गरे । उनले भने, ‘नगरपालिकाबीच भएको सम्झौता कार्यान्वयन गर्ने जिम्मा कुनै अमुक दलाललाई दिनु ठीक होइन ।