वासिङटन । संयुक्त राज्य अमेरिकामा महंगी ४० वर्षयताकै उच्च भएकोा छ । रुसले युक्रेनमाथि आक्रमण थालेयता मार्च महिनामा महंगी दर उच्च हुनपुगेको बीबीसीले जनाएको छ । उपभोक्ता मूल्यवृद्धि ८.५ प्रतिशत पुगेको छ । यो सन् १९८१ डिसेम्बरयताकै ठूलो वार्षिक वृद्धिदर भएको बताइएको छ । ऊर्जाजन्य मूल्य दोहोरो दरले बढेको छ । गत महिना राष्ट्रपति जो बाइडेनले रुसबाट हुने सबै तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएका थिए । महंगीसँगै अमेरिकामा इन्धनको मूल्यले समेत कीर्तिमान कायम गरेको छ ।
रुसले फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको थियो । सोसँगै पश्चिमा राष्ट्रहरुले उसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । रुस विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता हो । अमेरिकाको ऊर्जा मूल्य यो वर्ष ३२ प्रतिशतले बढेको श्रम विभागले जनाएको छ । त्यस्तै खाद्यवस्तुको मूल्य पनि ८.८ प्रतिशतले बढेको छ । ऊर्जाजस्तै खाद्य महंगी पनि रुस–युक्रेन संकटसँगै चुलिएको छ ।