काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख सात गतेसम्म, सस्तो डिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख तीन गतेसम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।
त्यसैगरी सिजी र एलजी डिजिटलबाट यही चैत्र ३० गते २० हजार रुपैयाँभन्दा बढीको सामग्री खरिद गरी एनआईसी एसिया बैंकका ग्राहकहरूले पस तथा ई–कमर्समार्फत भुक्तानी गर्दा दुई हजार ७९ रुपैयाँ नगद फिर्ता (क्यास ब्याक) हुने योजना समेत बैंकले ल्याएको छ । देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने बैंंकले जानकारी दिएको छ ।
साथै, बैंकले फोन–पेसँग सहकार्य गर्दै एनआईसी एसिया मो. बैंकमार्फत २०७८ चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा एक सय रुपैयाँ नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहकले अधिकतम तीनवटासम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोही दिन क्यूआर भुक्तानी गर्नेे र क्यूआर भुक्तानी लिने १०÷१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकोप्टर यात्रा र सोही क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्टको अवसर रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय एकवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको पनि बैंकले जनाएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।