काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको संख्या घटाउन, पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय भएको जानकारी दिएका छन् ।
नववर्ष २०७९ को पूर्वसन्ध्यामा ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदानप्रदान अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पुँजीवृद्धिको योजना मागेका छौँ । पुँजी वृद्धि गर्नुपर्छ । पुँजीवृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ ।’
बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्तालगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम सञ्चालन गर्न इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिँदै बीमाप्रतिको विश्वास बढाउन, सरेन्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिक स्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्दै समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिए ।
कार्यक्रममा बीमक संघका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक सङ्का अध्यक्ष निर्मलकाजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समितिका निर्देशकहरू कमलप्रसाद रेग्मी तथा दिनेशकुमार लाल, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र बीमा समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।