विराटनगर । २०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल अहिले पूर्वी नेपालको प्रतिष्ठित स्वास्थ्य सस्थाको रुपमा स्थापित छ । पूर्वी नेपालका बिरामीहरुको उपचारको प्रमुख गन्तव्यको रुपमा रहेको नोबेल शिक्षण अस्पताल स्वास्थ्य शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको पनि प्रमुख रोजाइमा पर्ने गरेको छ ।
गुणस्तरीय उपचारलाई प्राथमिकतामा राखेर सर्वसुलभ मूल्यमा उपचार सेवा प्रदान गर्दै आएको नोबेलमा दैनिक करिब तीन हजार बिरामी उपचारका लागि आउने गर्छन् । नोबेलले विपन्न बिरामीलाई लक्षित गरी ओपीडी सेवा निःशुल्क गरेपछि बिरामीहरुले निःशुल्क पुर्जी काटेर विशेषज्ञ डाक्टरसँग स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सबै वर्गका बिरामीको सहज पहँुचका लागि ओपीडी निःशुल्क गरेको नोबेलले उपचार सेवामा पनि स्तरीयता बढाउँदै लगेको छ ।

गुणस्तरीय उपचारलाई प्राथमिकता दिँदै आएको नोबेलले दुई अर्ब २० करोडको लगानीमा दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेर विश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । सुनसरीको इनरुवाका ४२ वर्षीय हिरा आचार्यको विश्वकै दुर्लभ मानिने एन्यूरिजम र ब्रेन ट्यूमरको एकैसाथ सफल शल्यक्रिया गरेपछि स्तरीय उपचारका क्षेत्रमा नोबेल अस्पताल विश्वकै अब्बल साबित भएको छ । नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेसन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माइक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोबोटिक आर्मसहितको न्यूरो इण्डोस्कोपलगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने गरेको छ ।
जर्मनी, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै विशेषज्ञ डाक्टरको व्यवस्थापन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि नोबेलमा अहिले नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्सलगायत देशका बिरामी पनि उपचारका लागि आउने क्रम बढ्दै गएको छ । फिनल्याण्डको बैंकिङ क्षेत्रमा प्रतिष्ठित एक व्यक्तिले पनि नोबेलमा आएर ब्रेन ट्युमरको शल्यक्रिया गराई निको भएर स्वदेश फर्किएका छन् ।
यता मुटु रोगको उपचारका क्षेत्रमा पनि नोबेलले छलाङ्ग मारेको छ । मुटु रोगको स्तरीय उपचारका लागि नोबेलले नेपालमै पहिलोपटक ओसीटी मेसिन प्रयोगमा ल्याएको छ । जसका कारण जटिल एन्जियोप्लाष्टिका लागि धेरै सहज हुनुका साथै बिरामीहरुका लागि स्तरीय उपचारको प्रत्याभूति पनि मिलेको छ । त्यस्तै मुटुको चाल गडबडीसम्बन्धी उपचारका लागि नोबेलले मोफसलमै पहिलोपटक ईपी ल्याव सञ्चालन गरेको छ । राजधानीबाहिरको पहिलो तथा नेपालको दोस्रो ल्याबका रुपमा सुरु गरिएको ईपी ल्याबका कारण नोबेलमा मुटु रोगका बिरामीको भीड बढेको छ ।
नोबेलले अब ओपन हार्ट सर्जरी सुरु गर्ने तयारी पनि गरेको छ । नेपालकै दोस्रो ठूलो डाइलाइसिस सेन्टर सञ्चालनको तयारी पनि भइरहेको छ । नोबेल अस्पतालले धेरै विपन्न बिरामीको उद्धार समेत गरेको छ । विपन्न बिरामीलाई लक्षित गरी उपचार सेवा उपलब्ध गराउँदै आएको नोबेलले दैनिक करिब ५ लाखबराबरको निःशुल्क उपचार गर्ने गरेको छ । आर्थिक अभावका कारण उपचार नपाएर घरैमा पीडाले तड्पिन बाध्य हजारौं बिरामीलाई नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माले उद्धार गरेर निःशुल्क उपचार गराउँदै आएका छन् ।

घाउमा किरा परेर मृत्युको मुखमा पुगेका बिरामीलाई पनि डा.शर्माले उद्धार गरेर निःशुल्क उपचार गराएका छन् । डा.शर्माले उपचार गर्न नसकेका बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नोबेलले तराईका भित्री गाउँदेखि हिमाली जिल्लाका विकट ठाउँमा समेत स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको छ ।
गत वर्षमात्रै शिविर र अस्पतालबाट नोबेलले १ लाख ३ हजार ५ सय ४२ बिरामीको निःशुल्क उपचार गरेको थियो । अस्पतालमा उपचारका लागि आएका ५५ हजार बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मूल्यबराबरको निःशुल्क उपचार गरिएको हो । नोबेलले विपन्न नागरिक औषधि उपचार कोष, आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमामार्फत पनि बिरामीलाई सहुलियतमा उपचार गर्ने गरेको छ ।
नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आफ्नै लगानीमा सतार, चमार, डुम, झागड, मुसहरजस्ता जातिका ३ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाएका छन् । डा.शर्माकै लगानीमा नेपालमै पहिलोपटक सतार समुदायका युवाले एमबीबीएस अध्ययन गरी डाक्टर बन्ने अवसर पाएका छन् ।

नोबेलमा एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिनिस्ट, डिफार्मलगायत संकायमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । स्वास्थ्य उपचारको क्षेत्रमा जस्तै स्वास्थ्य शिक्षामा पनि नोबेलको बेग्लै पहिचान छ । स्थापनाको छोटो अवधिमै स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षाका क्षेत्रमा नोबेलले आफ्नो छविलाई अब्बल साबित गरेको हो ।