काठमाडौं । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहीनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बीचमा दृष्टिसम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले हस्ताक्षर गरेका हुन् ।
यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा सञ्चालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखासम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउनेछ ।
बैंकले विगतमा पनि दृष्टिसम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढी टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।