काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ ।
काठमाडौं महानगरपालिका देखि देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकांक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
२०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । अधिकारीले उम्मेदवारी घोषणा संगसंगै नगरपालिकाको शिक्षा, स्वास्थ्या, विकास निर्माण, पर्यटन लगायतका क्षेत्रको विकास खाका पनि प्रस्तुत गरेका छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका अधिकारी विभिन्न शिक्षण संस्थामा प्रध्यापन एंव वित्तीय व्यवस्थापनमा संलग्न रहेका छन् ।
अधिकारीले २०५२ सालदेखी विभिन्न सामाजिक संघ, संस्थामा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । प्रमुखका आकांक्षी अधिकारीले चाँगुनारायणको समग्र विकास र समृद्धिका लागि पालिकाको नेतृत्व युवाहरुले लिनुपर्ने भन्दै आफु प्रमुखका लागि अगाडि बढेको बताए ।
‘‘राजनीतिमा युवा पुस्ता संलग्न नहुँदासम्म विकास, समृद्धि र रुपान्तरण सम्भव छैन, त्यसैले मैले प्रमुखका लागि उम्मेदवारी दिने घोषणा गरेको हुँ’’ अधिकारीले भने । यस पटकको स्थानीयतहको निर्वाचमा धेरै युवाहरुले पालिका प्रमुख लगायतका विभिन्न पदमा आकांक्षा प्रस्तुत गरेका छन् । राजनीतिमा युवाहरुको अकर्षण कम भयो भन्ने सोँचलाई गलत सावित गर्न र युवाहरुले चाहेमा परिवर्तन गर्न सक्छन् भन्ने प्रमाणित गर्न युवाहरु अगाडि बढ्नुपर्ने अधिकारीले बताए ।
अहिले काठमाडौं महानगरपालिकामा युवा उम्मेदवारले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छन् भने अन्य पालिकाहरुमा पनि युवाहरुको आकांक्षा र आकर्षण बढ्दै गएको देखिएको छ । समग्र देशको राजनीतिक प्रतिनिधित्वमा जस्तै युवा पुस्ताहरूमा हस्तान्तरण भैरहदा चाँगुनारायण नगरपालिकामा अच्यूत अधिकारीको उम्मेदवारी महत्वपूर्ण र समय सापेक्ष देखिन्छ।