काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौताबमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीहरूलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
विश्व विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरू उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकताअनुसार थप बैंकिङ सेवा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।
इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पूर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रूपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंकबीचको यो सम्बन्ध थप सुदृठ हुँदै जाने विश्वास व्यक्त गरे । विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउँदै विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पु-याउन सकिन्छ भन्ने विषयमा आफूहरूको जोड रहने उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वित्तीय कारोबारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक आभार व्यक्त गरेका थिए । नेपाल बैंक समयसँगै गतिशील बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उनले नेपाल बैंकका ऊर्जाशील कर्मचारीहरू र व्यवस्थापनको अथक मिहिनेत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्किरहेको र सम्पूर्ण ग्राहकहरूलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा. कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राडा निनराज ढकाल, पाठ्यक्रम विकास केन्द्र प्रमुख प्राडा मेदनी प्रसाद शर्मालगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेका थिए । त्यसैगरी नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख सूर्य प्रकाश भट्ट प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेललगायत मोरङ र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका विभिन्न शाखाका शाखा प्रबन्धकहरू साथै कर्मचारीहरूको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।