नयाँ दिल्ली । बिजुली संकटको समस्यासँग जुध्न भारतले आफ्नै प्रकारको पहिलो ब्याट्री पावर बैंक स्थापना गर्ने भएको छ । यसबाट धेरै माग आउँदा डिस्कोम र ग्रिड अपरेटरलाई हरित ऊर्जा उपलब्ध गराउन सकिने बताइएको छ ।
उक्त पावर बैंकको लाागि २० अर्ब भारु लगानी लाग्ने अनुमान छ । यद्यपि ब्याट्री निर्माणको लागि आवश्यक लिथियमको मूल्यमा भएको वृद्धि र रुस–युक्रेन युद्धको कारण आपूर्ति शृंखलामा बाधाले गर्दा कठिनाइ हुनसक्नेछ । भारतको सौर्य र वायु ऊर्जा योजना कार्यान्वयन गर्ने सरकारी संस्था सोलार इनर्जी कर्पोरेसन अफ इन्डिया लिमिटेड (सेसी)ले जारी गरेको विज्ञप्तिअनुसार परियोजनामा दुई घण्टाको लागि पाँच सय मेगावाट वा एक हजार मेगावाट घण्टाको आपूर्ति गर्ने भण्डारण क्षमता हुनेछ ।
डिस्कोम्सले यो भण्डारण क्षमतालाई भाडामा लिन सक्नेछ । जसबाट ऊर्जा उपयोग गरेर शुल्क लिनेछ । यो भण्डारण क्षमताको उपयोग अत्यधिक मागको समय बिजुली पाउन प्रयोग गरिनेछ । यो परियोजना राजस्थानमा अन्तर्राज्य प्रणालीको फतेहगढ ३ सबस्टेसनको नजिकै हुनेछ । परियोजनालाई बिल्ड अन अपरेटको आधारमा निर्माण अघि बढाइनेछ ।
यो परियोजनाको उद्देश्य ऊर्जा भण्डारणको क्षेत्रमा एक बजार विकास गर्नको लागि सहयोग दिनु हो । अहिले विश्वका ब्याट्री निर्माताहरुले भारतलाई कम प्राथमिकतावाला बजार मान्ने गरेका छन् । उनीहरुले अमेरिका र युरोपमा नै विशेष ध्यान दिन्छन् । यो पििरयोजनाबाट भारतले चार हजार मेगावाट प्रतिघण्टा ब्याट्री भण्डारण क्षमताको लक्ष्य राखेको छ । केन्द्रीय विद्युत् प्राधिकरणका अनुसार २०२९–०३० सम्म २७ हजार मेगावाट वा एक लाख आठ हजार मेगावाट प्रतिघण्टा अनिवार्य रुपबाट चार घण्टाको भण्डारण गर्ने ब्याट्री भण्डारण क्षमताको परिकल्पना गरिएको बताइएको छ ।