काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज मंगलबार हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको रिट आइतबार नै दर्ता भएको र मंगलबारलाई पेसी तोकिएको जानकारी दिएका हुन् ।
अधिकारी सर्वोच्च गएकै दिनदेखि उनीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समितिले काम थालेको अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । सरकारले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्न गत चैत २४ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ को उपदफा १ बमोजिम पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो ।
समिति गठनसँगै २५ गते उनी निलम्बनमा परेका थिए । समितिले उनलाई बर्खास्त गर्ने नगर्नेबारे १ महिनामा निर्णय दिनेछ । यता गभर्नर अधिकारीले भने आफ्नो निलम्बन फुकुवा गर्नुपर्ने भन्दै रिटमा उल्लेख गरेका छन् । सरकारका नाममा अन्तरिम आदेश दिन माग गरिएको रिटमा उनले निलम्बन फुकुवा गरिदिन भनेका छन् ।