ढाका । आर्थिक वर्ष २०२१–२२ मा भारतबाट धेरै चिनी आयात गर्नेमा बंगलादेश दोस्रो ठूलो आयातकर्ता भएको छ । भारतीय वाणिज्य मन्त्रालयका अनुसार अप्रिल–फेब्रुअरी अवधिमा बंगलादेशले धेरै चिनी आयात गरेको हो ।
उक्त अवधिमा बंगलादेशले ५६ करोड १० लाख अमेरिकी डलरको चिनी आयात गरेको हो । भारतबाट धेरै चिनी आयात गर्नेमा भने इन्डोनेसिया परेको छ । इन्डोनेसियाले सोही अवधिमा ७६ करोड ९० लाख अमेरिकी डलरको चिनी खरिद गरेको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतको कुल चिनी निर्यात दुई सय ९१ प्रतिशतले बढेको छ । सन् २०१३–१४ मा एक अर्ब १७ करोड ७० लाख डलरको चिनी निर्यात गरेको भारतले आर्थिक वर्ष २०२१–२२ मा चार अर्ब ६० करोड डलरको चिनी निर्यात गरेको हो । मन्त्रालयको तथ्यांकअनुसार भारतले एक सय २१ देशमा चिनी निर्यात गर्दै आएको छ । उक्त आवमा चिनी निर्यात ६५ प्रतिशतले बढेको बताइएको छ ।