हङकङ । टोयोटा र फक्सवागनले हप्तौँको कोभिड लकडाउनपछि आफ्ना कारखाना पुनः सञ्चालन गर्ने भएका छन् । टोयोटाले जिलिन प्रान्तको चांगचुनमा रहेको कारखानामा काम थाल्ने तयारी गरिरहेको सोमबार जनाएको हो ।
यो प्रान्त चीनकै ठूलो अटो उत्पादन हबहरुले चर्चित छ । जापानी सवारीनिर्माताले विज्ञप्तिमा भनेको छ, ‘हामीले हाम्रो चांगचुन प्लान्टमा काम थाल्ने तयारीमा छौँ ।’ यद्यपि फुलस्केलमा काम कहिलेदेखि सुरु गर्ने भन्ने एकीन हुन बाँकी रहेको टोयोटाले जनाएको छ । टोयोटाले मार्च १४ देखि चांगचुन कारखानामा उत्पादन निलम्बन गरेको थियो ।
त्यसैगरी फक्सवागनले पनि सोमबार चांगचुन प्लान्टमा उत्पादन पुनः सुरु गरेको छ । कम्पनीले पनि मध्यमार्चदेखि प्लान्टमा काम रोकेको थियो । तर कम्पनीको शांघाईस्थित साइकसँगको साझेदारीमा रहेको कारखाना भने बन्द नै रहेको छ । यहाँको कारखाना पनि पुनः खोल्नेबारे मूल्यांकन गरिरहेको फक्सवागनले जनाएको छ ।
यता टेस्लाले पनि शांघाईमा रहेको प्लान्टमा उत्पादन थाल्ने तयारी गरेको छ । रोयटर्सका अनुसार कम्पनीले प्लान्टमा पुनः उत्पादन थाल्नेबारे तयारी गरिरहेको सोमबार जनाएको हो । चीनमा अहिले कोभिडले पुनः लकडाउन गर्नुपर्ने अवस्था आएको छ । शांघाईमा सोही कारण लकडाउन गरिएको छ ।