काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) व्यवस्थापन राम्रो नरहेको गुनासो आफूसँग आएको बताएका छन् । एसियाली विकास बैंक (एडीबी)ले समेत केयूकेएलको व्यवस्थापन राम्रो नभएको भनेर आफूसँग गुनासो गरेको उनले बताए ।
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यक्रममा उनले आगामी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १० वटै पानी रिजर्भ ट्याकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न केयूकेएललगायतका निकायलाई निर्देशन दिए । गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पथान्तरण गरेपछि मंगलबार पानी सुन्दरीजल आइपुगेको छ ।
‘आगामी वैशाख ११ गते काठमाडौं उपत्यकाका नागरिकका घरको धारामा पानी आउनुपर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन’, मन्त्री चौधरीले भने, ‘पानी वितरणको लागि धेरैवटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।’ उनले काठमाडौंको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुनेगरी पानी आउने र कुनै नागरिकको घरमा पिउनको लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे । ४० प्रतिशतसम्म खानेपानीको चुहावट हुनेगरेको विवरण सुन्दा आफूलाई अचम्म लागेको भन्दै मन्त्री चौधरीले चुहावट नियन्त्रण गर्न उनले केयूकेएललाई निर्देशन दिए ।
यस्तै उनले वर्षायाममा मेलम्ची नदीमा पुनः बाढी आउनसक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्वसूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाइड्रोलिक गेट हाल्न समेत निर्देशन दिए । खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपाति ढंगले वितरणको लागि पूर्वतयारी गर्नुपर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनुपर्ने बताए । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाले कतै दुईवटा धारामा पानी आउने र कतै दुईवटै धारामा पानी नआउने अवस्थामा उपभोक्तालाई असमानताको महसुस हुने र महसुल संकलनमा समस्या हुने बताए ।
केयूकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट दुई करोड लिटर प्रत्येक दिन वितरण हुने बताए । उनले काठमाडौंको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए । उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयूकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए । आगामी आइतबारदेखि केयूकेएलले महांकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुञ्जे रिजर्भवेर टैंकबाट पानी वितरण गर्ने भएको छ ।