काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लीन अप नेपालले आइतबार भगवान् विष्णुको वासस्थान बूढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ आयोजना गरेको छ । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो । कार्यक्रममा बूढानीलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (ईसीआई) र युवा समूहको सहभागिता थियो ।
नेपालका सबै प्रमुख सहरमा बढ्दो वातावरणीय प्रदूषणको पछाडि जम्मा भएको फोहोरको अनुचित व्यवस्थापन र जलाउने प्रमुख कारण रहेको छ । फोहोरको कुप्रबन्धनले नकारात्मक स्वास्थ्य र पर्यावरणीय खतराहरू निम्त्याउँछ । फोहोर फाल्ने, नियमित सरसफाइमा संलग्न हुने, फोहोरको झोला साथमा बोक्ने र सार्वजनिक स्थानमा भन्दा फोहोर फाल्ने भाँडोमा मात्रै फोहोर फाल्ने भन्ने विषयमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
विभिन्न प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीहरूलाई जानकारी दिएर कार्यक्रम सुरु भएको थियो । त्यसैगरी सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मन्दिरवरपरका विभित्र ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । उचित फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ भएको सरसफाइ कार्यक्रममा ५५ जना सहभागी थिए ।