काठमाडौं । नबिल बैंकले प्रवासी कामदारहरूको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ । अप्रिल १५, २०२२ मा भिभान्ता होटल ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरूको समाजमा हुनसक्ने तापक्रमसम्बन्धी रोगहरूजस्तै परम्परागतबाहेकका पुराना मिर्गाैला रोगहरूको रोकथाम गरी समाजबाट मिर्गौला रोग निर्मूल पार्न काम गरिरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानहरूको विकास तथा कार्यान्वयन गर्दै आइरहेको छ ।
प्रवासी कामदार र विप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ र यिनै विषयलाई मध्यनजर राखी नबिल बैंकद्वारा सञ्चालन गरिएको यो कार्यशाला नेपाली बैंकिङ क्षेत्रमै पहिलो कार्यशाला हो । नबील बैंकले दिगो विकासका पहलहरूलाई समर्थन तथा कार्यान्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो विकासको लागि महत्वपूर्ण रहने विश्वास गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा विप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कूटनीतिक संघसंस्थाहरूलगायतका श्रम मामिलामा आबद्ध विभिन्न संघसंस्थाहरूका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा विभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरूको स्वास्थ्यमा पर्नजाने असरलाई समयमै पहिचान गरी सोको आवश्यक समाधान गर्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यशालाको दौरान जेसनले बढ्दैै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिँदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराएका थिए । बढ्दो तापक्रम र गर्मीका कारण मिर्गाैलामा आउनसक्ने समस्या जलवायु परिवर्तनका कारण सिर्जना भएको पहिलो महामारी हुनसक्ने समेत बताए । त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण सुरू भएका नयाँ रोगहरूबाट प्रवासी कामदारहको स्वास्थ्यलाई जोगाउन सकिने बताए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जीवित जीवहरूमा उच्च मात्रामा देखिन थाले पनि यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्नसके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूर्ण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए । कार्यक्रममा उपस्थित सहभागीहरूले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा विप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिको रूपमा सुवर्ण श्रेष्ठले आफ्नो विचार व्यक्त गरे ।
कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै सरोकारवालाहरूलाई सँगै राखी यस्तो गम्भीर विषयमा छलफल गर्ने वातावरण मिलाइदिएकोमा नबिल बैंकलाई बिशेष धन्यवादज्ञापन गर्दै कार्यशालाको समापन गरेका थिए ।