काठमाडौं । बागबजार निवासी भारतीय नागरिक मोहम्मद इद्रिसले काठमाडौं सिनामंगल निवासी अरविन्द अग्रवालले ज्यान मार्ने धम्की दिएकाले शान्ति सुरक्षा गरिपाऊँ भनी काठमाडौंका सीडीओसमक्ष निवेदन दिएका छन् ।
विहारी इद्रिस पेसाले पेन्टर (रंग लगाउने) हुन् । उनले अग्रवालको घर सिनामंगलमा रंगरोगन गरेका थिए । अग्रवालले इद्रिसलाई स्टेटमेन्ट गराई ४५ लाख ५० हजार रुपैयाँ रंगरोगन गर्न लगाएका थिए र रंगरोगनपछि पटक–पटक गरी २८ लाख ६० हजार रुपैयाँ समेत दिएका थिए । रंगरोगन गरिसकेपछि इद्रिसले रकम माग्दा अग्रवालले रकम नदिई अपरिचित व्याक्तिहरुलाई फोन गर्न लगाएर ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।
हिसाबअनुसार इद्रिसले अझै १६ लाख ९० हजार रुपैयाँ लिन बाँकी रहेको बताएका छन् । तर उक्त रकम माग्दा अग्रवालले अर्जुन न्यौपाले र सुरज दाहालमार्फत रकम नमाग्न धम्की दिएको बताएका छन् । उनका अनुसार न्यौपानेले आफूलाई नेपाली कांग्रेस सिन्धुलीको सचिव बताउने गरेका छन् । उनीहरुले इद्रिसलाई रकम नमाग्न धम्की दिएका हुन् र रकम मागेमा नेपालमा काम गर्न नपाउने गरी निकाल्ने चेतावनी दिएको उनी बताउँछन् । जनकपुर भानुचोक मूलघर बताउने अग्रवालले आफूलाई अरबीन्द दोकानीया भनेर समेत चिनाउने गरेका छन् । अरविन्दले मारवाडी सेवा समितिको अध्यक्ष आफ्नो सालो भएकाले उसलाई भनेर इद्रिसलाई नेपालमा कामै गर्न नपाउने बनाइदिने धम्की समेत दिएको पीडितको भनाइ छ ।
अहिले मारवाडी सेवा समितिमा कैलाश चन्द्र गोयल अध्यक्ष रहेका छन् । यस सम्बन्धमा उनीसँग सम्पर्क गर्दा उनले अरविन्द अग्रवाल वा दोकानीय आफ्नो कुनै नातेदार नरहेको बताएका छन् । उनले काम लगाएर त्यसरी पैसा नदिने जोसुकै भए पनि त्यस्तो व्यक्तिलाई आफ्नो साथ सहयोग नरहने बताए । गोयलले त्यसरी काम लगाएपछि काम गर्नेलाई चित्त बुझाएर पठाउन आफूले सहयोग गर्ने बताए । पीडित इद्रिसले त्यही ठूलो कामको भ्याट बिल दिन लाग्दा अरविन्द टोकानीयाले भ्याट बिल नलिएको र अहिले भ्याट छलेको आरोपमा कारबाही गराउने उल्टै धम्की दिएको बताएका छन् । इद्रिसको उजुरीपछि यही ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले अरविन्द अग्रवाल, अर्जुन न्यौपाने र सुरज दाहाललाई कारबाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको थाहा भएको छ ।