काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् ।
सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू टावर र सभाहल निर्माणका लागि बजेट व्यवस्था नहुने उनको भनाइ छ । उनले भनिन्, ‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ । राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संररचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।’ उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभाहल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् । मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताइन् ।
‘आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ’, उनले भनिन् । मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रूपान्तरण गर्न लागिएको जानकारी दिइन् । यसअघिको सरकारले विनाकुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेन्डर गरेर सिलान्यास गर्दा समेत काम सुरू हुन नसकेको बताइन् ।