काठमाडौं । मुलुकमा स्थानीय तहको निर्वाचन नजिकिँदै छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकाय समेत व्यापक तयारीमा छन् । सुरक्षा निकायको ध्यान निर्वाचनतर्फ भएकै बेला यता तस्करहरुलाई भने तस्करीकै ध्यान छ । प्रहरी तथा प्रशासनले समेत यही मौकामा आँखा चिम्म गरिदिँदा दैनिक अर्बौंको तस्करी भइरहेको छ । राजस्व अनुसन्धान विभागका अनुसार मुलुकमा एकै दिनमा करिब पाँच अर्बभन्दा बढीको त कपडा मात्रै तस्करी हुने रहेछ । नेपाल–भारतका विभिन्न नाकाबाट भइरहेका यस्तो अवैध कपडा तस्करीमा राज्यको रहस्यमय उदासीनता छ । तस्करहरुले काठमाडौंका सबैजसो सपिङको हब नै कब्जा गरेका छन् ।
फल्स बटम बनाएर ट्रकका ट्रक कपडा तस्करी हुँदा पनि प्रहरी प्रशासन मौन छ । सीमामा रहेको सशस्त्र प्रहरी बल र सडकमा रहेको जनपद प्रहरीकै मिलेमतोमा कपडा तस्करी भइरहेको छ । पछिल्लो समय राजस्व अनुसन्धान विभागले थोरै कडा गरिदिँदा तस्करहरुको निदहराम भएको छ ।
अहिले तस्करहरु वीरगञ्जको वैकल्पिक नाका, रुपन्देहीको वैकल्पिक नाकाको खोजीमा छन् । केही दिनअघि चितवन प्रहरीले करिब तीन करोड मूल्यबराबरको लत्ताकपडासहित चारवटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । उक्त ट्रक वीरगञ्ज भन्सार कार्यालयबाट कसरी छुट्यो र भन्सार नै नतिरी कसरी चितवनसम्म आइपुग्यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने हो । तर, प्रहरीले हालसम्म मुख्य तस्करहरुलाई पक्राउ गर्न समेत सकेको छैन । सामान्य भरिया र चालकलाई मुद्दा लगाएर ठूला तस्करहरुलाई खुला छाडिँदै आएको छ ।
गत फागुन १२ गते इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरीले बाहिर फलामको डण्डी देखाएर भित्र कपडा लुकाएको अवस्थामा चारवटा ट्रक फेला परेको थियो । उक्त गाडीमा ८६ वटा पोका कपडा भेटिएको थियो । नेपालमा यसरी तस्करीधन्दा चलाउने गिरोह यतिबेला भने सीमापारिबाटै धन्दा चलाइरहेका छन् ।
नेपालमा भारतबाट यसरी अवैध तस्करी गर्ने मुख्य नाइके रमा शंकर कलवार हुन् । कलवार पटक–पटक पक्राउ पर्दै छुट्दै आएका ठूला तस्कर हुन् । त्यस्तै अर्का नाइके गुड्डु गुप्ता, सनोज कलवार, मनोज कल्वारलगायत तस्करहरु भारतको रक्सौलका बासिन्दा हुन् । तस्करीको बादशाह भनेर चिनिने रुन्चे भनिने मदन गुप्ताले वीरगञ्ज नाकाको जिम्मा लिएका छन् । उनै गुप्ताको भन्सार सेटिङमा यस्ता माल तस्करी हुँदै आएको छ । गुप्ताले महाशक्ति ट्रान्सपोर्ट सञ्चालन गर्दै आएका छन् । उनले सानेपामा ठूलो स्टोर गराउने र न्युरोडका पसलहरुमा पु-याउने गरेका छन् ।
वीरगञ्ज भन्सारमा निगरानी बढेपछि गुप्ताले यतिबेला भैरहवा भन्सार कार्यालयको सेटिङमा भैरहवाको नाका प्रयोग गर्ने गरेका छन् । स्रोतका अनुसार भैरहवा नाकाबाट तस्करी गर्नका लागि उनीहरले एसपी रविन्द्र रेग्मीलाई समेत मिलाइसकेका छन् । रेग्मी रुपन्देहीमा सरुवा भएपछि तस्करी मौलाएको छ । तस्करसँग सेटिङ गरेकै कारण केही दिनअघि राजस्व अनुसन्धान कार्यालय पथलैयाका हाकिम नै परिवर्तन भएको छ ।
यता नवलपरासी भैरहवा कपिलवस्तु नाकाबाट रामेश्वर तिवारीहरुले समेत तस्करी गर्दै आएका छन् । वीरगन्ज नाकामा राजु थापा भनिने राजेन्द्र थापाहरु पनि सक्रिय छन् । ट्रान्सपोर्ट व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बालकृष्ण पोखरेल पनि तस्करीमा सक्रिय व्यक्ति हुन् । तस्करीका मुख्य नाइके रमाशंकरको न्युरोडमा एक अर्बभन्दा बढी लगानी रहेको स्रोत बताउँछ ।
त्यस्तै गुड्डु गुप्ताले न्युरोड क्षेत्रमा ३० करोड रुपैयाँ लगानी गरेका छन् । सनोज र मनोज कल्वारले न्युरोडमै ४० करोडबराबर लगानी गरेका छन् । उनीहरुको लगानीमाथि सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने हो भने सबैको सम्पत्ति जफत हुने अवस्थामा रहेको स्रोतले बतायो । तस्करीबाट रुन्चे भनिने मदन गुप्ता, रामेश्वर तिवारी, बालकृष्ण पोखरेल र राजु थापाहरुले अर्बौंको साम्राज्य खडा गरेका छन् । केही दिनअघि मनोज कलवार पक्राउ परेपछि तस्करहरु सीमापारि गएर लुकेका थिए ।
केही तस्करहरु यतिबेला रक्सौलसम्म पुगेको स्रोतले बतायो । चितवन प्रहरीले बरामद गरेको तीन करोड मूल्यको लत्ताकपडा पनि रुन्चे भनिने मदन गुप्ता र राजु थापाहरुको हो । केही दिनअघि वीरगञ्जस्थित रुन्चे मदनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मार्दा एक सय बोराभन्दा बढी सामान बिलविनाको भेटिएको थियो । तर, अहिले उक्त सामानहरु भन्सार छुट गराएर नेपाल भित्र्याउने चलखेल जारी छ । राजस्व अनुसन्धान विभागकै स्रोतका अनुसार नेपालमा दैनिक १० हजार बोरा कपडा विभिन्न नाका हुँदै भन्सार छली गरेर तस्करी हुँदै आएको छ ।
एक बोरा कपडाबाट राज्यलाई २६ हजार रुपैयाँभन्दा बढी भन्सार शुल्क प्राप्त हुन्छ । तर, तस्करहरुले कपडा राखेको ट्रकमा भन्सार नलाग्ने आलुलगायत तरकारी छ भन्दै टिपाएर भित्र भने कपडा लुकाएर नेपाल भित्र्याउने गरेका छन् । वीरगञ्जमा छापा मारेपछि यतिबेला तस्करहरुले अर्को रुट परिवर्तन गर्न थालेका छन् । ठुटिबारी, महेशपुर नवलपरासी, कपिलवस्तुको कृष्णनगरबाट व्यापक रुपमा तस्करी भइरहेको छ । स्रोतका अनुसार तस्करहरुले दैनिक पाँच अर्ब मूल्यबराबरको कपडा मात्रै राजस्व र भन्सार छली गरेर नेपाल भित्र्याइरहेका छन् । तर, राजस्व अनुसन्धान विभाग भने मौनजस्तो देखिन्छ ।
तस्करीको नयाँ चाला : तस्करहरुले भारतीय ट्रकमा फल्स बटम बनाएर भन्सार नतिरी चोरी पैठारी गर्दै आएका छन् । गत वर्ष भदौमा राजस्व अनुसन्धान विभागले वीरगञ्ज महानगरपालिका १० घर भएका रजनिश गुप्ता, राजु भनिने राजेन्द्र थापासहित छ जनालाई तीन करोड १९ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरको थियो । उनीहरुले भारतीय ट्रकमा फल्स बटम बनाएर कपडा तस्करी गरेका थिए । उनीहरुलाई राजस्व अनुसन्धान विभागले मुद्दा लगाए पनि तस्करीको धन्दा भने रोकिएको छैन ।
तस्करीमाथि निगरानी बढाउँदा प्रचण्ड निवासमा पुगेको एउटा डोरी
राजस्व अनुसन्धान विभागले तस्करमाथि केही मात्रामा एक्सन थालेपछि न्युरोड क्षेत्रमा आतंक मच्चियो । खासगरी कस्मेटिक सामग्रीको तस्करी गर्नेहरुले त राजस्व अनुसन्धान विभागका डिजी प्रकाश पौडेलविरुद्ध गलत आक्षेप लगाएर समाचार छाप्न लगाए । तर, राजस्वका कर्मचारीले कस्मेटिक तस्करलाई पक्राउ गर्ने तयारी गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरी रेणु दाहालको सचिवालयमा छु भन्दै हिँड्ने विजयदेव भट्टराईको फोन आयो । विभागका अधिकारीहरुले उनै भट्टराई कस्मेटिक, कपडा लगायत तस्करीमा लागेको समेत फेला परे पनि कारबाही भने गर्न सकेको छैन । उनी यसअघि खानेपानी मन्त्री रहेकी विना मगरको पीए समेत थिए ।