काठमाडौं, फागुन २
नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईंले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बिमा शुल्क ई–सेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै ई–सेवा एकाउन्ट नभएका ग्राहकले ई–सेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् ।
नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै ई–सेवा फोन–पे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको छ, अबदेखि बीमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नेछन । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
देशभर करिब ८० हजारभन्दा बढि एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको ई–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा एक करोडभन्दा बढिले सेवा लिइरहेका छन्् । ई–सेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
२०५८ सालमा पब्लिक लिमिटेड कम्पनीकोरूपमा स्थापना गरिएको नेपाल लाइफ इस्योरेन्स प्रथम अग्रणी जीवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका दुुई सयवटा शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सावधिक, धन वर्षा, आजीवन, म्यादीलगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।