अमेरिका । संसारकै धनी इलोन मस्कले जसरी पनि ट्विटर खरिद गर्ने मनसाय देखाएका छन् । अमेरिकी मिडियाहरुका अनुसार त्यसका लागि उनले ४६ अर्ब ५० करोड डलर जुटाउने प्रतिबद्धता पाएको बिहीबार बताएका छन् । एक हप्ताअघि मात्रै उनले चर्चित सामाजिक सञ्जाल ट्विटर खरिदको प्रस्ताव गरेका थिए । अहिले भने उनले खरिदको लागि रकम तोकेरै प्रतिबद्धतापत्र तयार गरेको बताएका छन् । त्यसमा मोर्गान स्ट्यान्ले बैंक र अन्य वित्तीय संस्थाहरु तथा एउटा आफ्नै सेयर प्रतिबद्धता समेत रहेका छन् । उक्त प्रतिबद्धतापत्र उनले बिहीबार नै सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा दर्ता गरेका छन् । उक्त पत्रमा उनले ट्विटरको बोर्डबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको उल्लेख गरेका छन् । उनले ट्विटरको सबै सेयर प्राप्ति गर्न चाहिरहेका छन् । उनले अहिले आफ्नो स्वामित्वमा नरहेको सेयर प्रतिकित्ता ५४.२० डलरमा खरिद गर्ने बताएका छन् । यदि यो सम्झौता भए ट्विटर ४१ अर्ब डलरवरिपरि मूल्यवान् कम्पनी बन्नेछ । उनले सम्झौताका लागि छलफलमा बस्न तयार रहेको बताएका छन् । तुरुन्तै यससम्बन्धी छलफल गर्न उनी तम्तयार देखिएका छन् । यसअघि उनले अन्तिम प्रस्ताव समेत भनेका थिए । मस्कले किन्ने प्रस्ताव गरेपछि त्यसका लागि उनले लगानी गर्न सक्ने नसक्नेबारे बहस हुँदै आएको छ । उनी संसारकै धनी भए पनि उनको धेरैजसो सम्पत्ति टेस्लाको सेयर स्वामित्वमा आधारित छ । सोही कारण केहीले उनले ट्विटर किन्नको लागि ऋण जुटाउन नसक्ने अनुमान समेत गर्दै आएका थिए । यसअघि ट्विटरको बोर्डले मस्कको प्रस्तावविरुद्ध निर्णय गर्दै ट्विटर हत्याउन केही कठिन हुने निर्णय गरेको थियो ।