काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बुधबार गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्राडा गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्चव्यवस्थापन समूह, स्थानीयबासीहरूको उपस्थिति रहेको थियो । माकलबारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा एक अर्ब कटाउन सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या एक सय ३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।