जकार्ता । विश्वकै ठूलो पाम तेल उत्पादक इन्डोनेसियाले निर्यातमा प्रतिबन्ध लगाउने भएको छ । विश्वभर प्रयोग हुने उक्त फलफूलजन्य तेल निर्यातमा प्रतिबन्ध लगाउने योजनाबारे शुक्रबार इन्डोनेसियाले जानकारी गराएको हो ।
इन्डोनेसियाको यो निर्णयले उसै त बढेको महंगी खाद्य क्षेत्रमा झन् बढ्नसक्ने देखिएको छ । खाद्यान्न तयार गर्दा आवश्यक हुने तुल र यसको कच्चापदार्थ शिपमेन्ट रोक्दा विभिन्न वस्तुमा असर पुग्नेछ । यो तेल केकदेखि कस्मेटिक्ससम्ममा प्रयोग हुन्छ । सोही कारण प्याकेज हुने खाद्य वस्तुको मूल्य बढ्नसक्नेछ । विश्वमा कुल पाम आयल आपूर्तिको आधाभन्दा धेरै हिस्सा इन्डोनेसियाको छ ।
युक्रेनमाथि रुसको आक्रमणसँगै खाद्य क्षेत्रमा महंगी चर्किँदै जाँदा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भिडिओ सन्देशमा खाद्य उत्पादनहरु देशभित्रै उपलब्धता बढाउन चाहेको उल्लेख गरेको रोयटर्सले जनाएको छ । उनले खाद्यवस्तुमा प्रयोग हुने तेल स्वदेशमै खपत गर्ने नीति कार्यान्वयनको अनुगमन समेत गर्ने बताएका छन् ।
योसँगै पाम तेलको ठूलो आयातकर्ता भारत र अन्य देशहरुलाई ठूलो असर गर्ने देखिएको छ । भारतीय व्यापारीहरुले यसलाई चिन्ता भनेका छन् । यो निर्णय अप्रिल २८ देखि लागू हुनेछ । यो निर्णयसँगै भटमासको तेलको मूल्य बढेको छ ।
विश्वमा पाम कच्चा तेलको मूल्य यो वर्ष ऐतिहासिक विन्दुमा पुगेको छ । गत जनवरीमा पनि यसको निर्यातमा इन्डोनेसियाले कडाइ गरेको थियो । पछि मार्च महिनामा उक्त कडाइ खुकुलो बनाइएको थियो ।