काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आइतबार नै बजार परिसूचक ९५ दशमलव ५२ अंकले उकालो लागेर २४ सय २० दशमलव ९६ विन्दुमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले उकालो लागेर चार सय ६० दशमलव ८८ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३८ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । जसबाट ४३ हजार चार सय ५० पटकको कारोबारमा ६६ लाख ३९ हजार पाँच सय चार कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा यस दिन कुल कारोबार रकम दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार पाँच सय ९३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेर सेयरबजार पूरै हरियो देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ४२ दशमलव १२ अंकले उकालो लागेर १६ सय ११ दशमलव सात विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि दुई सय ६२ दशमलव ३७ अंकले उकालो लागेर ४२ सय ५८ दशमलव ३४ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि एक सय ८९ दशमलव शून्य नौ अंकले उकालो लागेर २७ सय ७२ दशमलव ५१ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि एक सय ४३ दशमलव ६७ अंकले उकालो लागेर १८ सय १४ दशमलव ७० विन्दुमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि चार सय ३४ दशमलव ३७ अंकले उकालो लागेर १० हजार नौ सय ६१ दशमलव ९३ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि चार सय २३ दशमलव ३७ अंकले उकालो लागेर १३ हजार ३५ दशमलव ९३ विन्दुमा चढेको छ । यीबाहेक टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः २२ दशमलव ७९, ८४ दशमलव ९३, एक सय ५६ दशमलव ४६, ८८ दशमलव ७६, एक सय ७९ दशमलव ४२, शून्य दशमलव ३१ र चार दशमलव ३१ विन्दुले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको युनिभर्सल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ६१ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर चार सय २० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ८९ प्रतिशतले घटेर आठ सय ५२ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि दुई दशमलव ८५ प्रतिशतले घटेर २७ सय २० रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक लुम्बिनी विकास बैंकको ऋणपत्र, सिद्धार्थ इक्विटी फण्ड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन सानिमा बैंकको संस्थापक सेयरतर्फ सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता एक सय ८५ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड १० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको पनि प्रतिकित्ता नौ सय ६२ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ११ करोड ७६ लाख २२ हजार सात सय ३३ रुपैयाँ ४० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक अरुणभ्याली हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।