काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप चार दशमलव एक प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ प्रतिशतले बढेको छ । २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव चार प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५५ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव चार प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको थियो । २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव आठ प्रतिशत रहेको छ । २०७७ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४२ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने १२ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२ दशमलव दुई प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनाामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ दशमलव चार प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५ दशमलव दुई प्रतिशतले बढेको छ । २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव पाँच प्रतिशत कर्जा चालु सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव दुई प्रतिशत र १२ दशमलव तीन प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६ दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा नौ दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव सात प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा सात दशमलव चार प्रतिशतले बढेको छ ।
चालू आवको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव एक प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१ दशमलव चार प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १५ दशमलव छ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४ दशमलव एक प्रतिशतले र हायर पर्चेज कर्जा पाँच प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट अर्थात् आयात कर्जा भने ४१ दशमलव नौ प्रतिशतले र मार्जिन प्रकृति कर्जा नौ दशमलव नौ प्रतिशतले घटेको छ ।