काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग आवासगृहमा पुगेर उनीहरूले भोगेका समस्याहरूबारे जानकारी लिएका छन् । आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा नेपालीहरूले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।
विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयलाई आफूले उच्च प्राथमिकता दिएको उनले बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्बन्धित देशको सरकारसँग कुरा गर्ने बताए । उद्धार गरिएका श्रमिकहरूलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सबै प्रक्रिया बुझेर जान पनि उनले आग्रह गरे ।