काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक तथा नीति अनुसन्धान प्रतिष्ठान काठमाडौँबीच सार्वजनिक नीति, विकास, प्रविधि र अनुसन्धानका क्षेत्रमा दीर्घकालीन र बलियो सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रअन्तर्गत आ–आफ्ना संस्थागत नियमहरूको अधीनमा रही यी दुई संस्थाले पूर्वाधार विकासका विधा र क्षेत्रहहरुमा साझेदारी गर्नेछन् । सार्वजनिक नीतिसम्बन्धी सान्दर्भिक अनुसन्धानहरू, पूर्वाधार विकास क्षेत्रसम्बन्धी नीतिहरूमा प्राज्ञिक संवाद, पूर्वाधार विकाससम्बन्धी अनुसन्धान, प्रकाशन, प्रसार र जनपहुँच, वैज्ञानिक सभा सम्मेलन, संस्थागत अनुसन्धानको क्षमता विकास, पूर्वाधार विकास क्षेत्रको अनुसन्धान–सूचना, तथ्यांक, पुस्तकालय तथा बौद्धिक सम्पत्तिको परस्पर र सार्वजनिक उपयोगिताका लागि आदानप्रदान, पूर्वाधार विकास क्षेत्रको अनुसन्धान गुणस्तर, मानक र आचारसंहिताको संवर्द्धन, पूर्वाधार विकास क्षेत्रको प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको संयोजन र नवप्रवर्तनलगायत पूर्वाधार विकास क्षेत्रका राष्ट्रिय महत्वका अन्य कार्यहरू गर्नेगरि समझदारी भएको हो । आवश्यकताअनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका अनुसन्धान केन्द्र र आङ्गिक क्याम्पससँग छुट्टै सम्झौता, लिखित सहमति वा पत्राचार गरी पूर्वाधार विकास क्षेत्रका सहकार्यहरू सञ्चालन गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।
हाललाई पाँच वर्षका लागि मान्य हुने उक्त समझदारीपत्रमा नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थानका तर्फबाट प्राध्यापक डा शशिधर राम जोशीले हस्ताक्षर गरेका छन् ।