काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागन सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा मदेश प्रदेशअन्तर्गत होटल पुजन, आदर्श नगर, वीरगञ्जमा तेस्रो प्रदेशस्तरीय पुँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ दामोदर रायमाझी र प्रमुख सञ्चालन/लगानी अधिकृत मनिष घिमिरेले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो । मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यकाबाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जन गुनासो बारम्बार आउने गरेको हुँदा उपत्यकाबाहिरबाट कसरी मर्चेन्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहजरूपमा पुँजीबारमा आबद्ध भई सुरक्षित रूपमा सेयर कारोबार गर्न सकून् भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा ७० जनाभन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरूमा समेत गर्ने जानकारी दिएको छ ।