चीन । फोर्ब्सका अनुसार विश्वमा २६ सय डलर अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति १ सय २० खर्ब डलर रहेको छ । यीमध्ये धेरै संयुक्त राज्य अमेरिकामा ७ सय ३५ अर्बपति छन् । तिनमा इलोन मस्क र जेफ बेजोसजस्ता चर्चित नामहरु पर्छन् ।
धेरै अर्बपति भएकामा चीन दोस्रोमा पर्छ जहाँ ६०७ अर्बपति छन्। तिनैमध्ये पर्छन् एसियाकै कान्छा अर्बपति वांग जेलङ जो २५ वर्षमात्रै पुगेका छन् । उनी को हुन् र कहाँबाट यति धेरै सम्पत्ति कमाएर सानो उमेरमै फोब्र्समा छाइरहेका छन् त ?
केमिकल कम्पनी सीएनएनसी हुवा युआन टिटानियम डायअक्साइड कोमा १ अर्ब ३० करोड डलरभन्दा धेरै मूल्यको सेयर पाएपछि फोब्र्सको सूचीमा उनी गत वर्षदेखि पर्नथालेका हुन् । योसँगै टिटानियम डायअक्साइड उत्पादन गर्ने कम्पनी लोमोन बिलियन्स ग्रुपमा समेत उनको सेयर छ ।
एक वर्षपछि वाङ हालसम्मकै धनी भएका छन्। उनको पछिल्लो सम्पत्ति डेढ अर्ब डलर बढी रहेको फोब्र्सले जनाएको छ। वाङ फोब्र्सको सूचीमा परेसँगै उच्च धनाढ्य क्लबको एक हिस्सा बनिसकेका छन् । उनलाई म्यागेजिनले ३० वर्षमुनिका अर्बपतिमाझ विशेष स्थान दिएको छ ।
यो सूचीको पहिलो नम्बरमा भने १९ वर्षीय केभिन डेभिड लेहम्यान छन् । उनी पनि जर्मन औषधि चेन डीएम–ड्रगरी मार्क्टको ५० प्रतिशत सेयर स्वामित्व रहेका अर्बपति हुन् । फोब्र्सको ताजा सूचीमा ३० वर्षमुनिका १२ जना अर्बपति रहेका छन् । यीमध्ये वाङ एसियाका एक्लो साना अर्बपति हुन् । उनी एसियाका कान्छा अर्बपति बनेका छन् भने विश्वका दोस्रा । यीमध्ये धेरै अर्बपति प्रविधि क्षेत्रका हुँदा वाङले पृथक् क्षेत्रको प्रतिनिधित्व गरेका छन् । उनको कम्पनीले टिटानियम डायअक्साइड पिग्मेन्ट उत्पादन गर्छ । जुन कोट, प्लास्टिक्स र मसीमा प्रयोग हुन्छ ।
वाङ चीनको हेनान प्रान्तको जियाजुओ सहरका हुन् । तुलनात्मक रुपले भन्ने हो भने चिनियाँ राजधानी बेइजिङ जियाजुओभन्दा १६ गुणा ठूलो छ । त्यस्तै सांघाईको जनसंख्या उनको सहरभन्दा २० गुणा धेरै छ । मुख्य कुरा त चीनका कान्छा यी अर्बपति चीनमै कम चर्चित स्थानको प्रतिनिधित्व गर्छन् ।
एसियामा उनी ठूलै धनाढ्यमा परे पनि उनको निजी जीवन निकै सामान्यखालको छ। त्यसो त उनीबारे थोरै मात्र बाहिर सार्वजनिक भएको छ। उनी आफूलाई ‘लो प्रोफाइलमै राख्न रुचाउँछन् । उनको सामाजिक सञ्जाल एकान्ट वा अनलाइन प्रोफाइल समेत भेटिँदैन । यसका बाबजुद यति सानो उमेरमै अर्बपति बनेका उनी लामो समयसम्म यो सूचीमा अटाइराख्न सक्नेछन् । एससीएमपीबाट भावानुदित । (आर्थिक देैनिकबाट)