काठमाडौं । आर्थिक दैनिकले पीडित पक्षको समाचार दिएपछि कतिपय व्यवसायी पनि बिचौलियाको भूमिकामा देखिएका छन् । गत ८ गते रंग लगाएको पैसा माग्दा ज्यान मार्ने धम्की भन्ने शीर्षकमा समाचार छापिएपछि सुर्ती व्यवसायी संघका अध्यक्ष सुरेश पोख्रेल त्यस्तै भूमिकामा प्रस्तुत भएका छन् । उनले आर्थिक दैनिकका सम्पादकलाई समेत फोन गरेका थिए ।
सिनामंगलको अरविन्द अग्रवाल दोकानीयाँको घरमा सम्झौताअनुसार ४५ लाख ५० हजार मूल्यको कोटेसनमा रंग लगाएका भारतीय नागरिक मो. इद्रिसलाई रंग लगाइसकेपछि पैसा माग्दा दोकानीयाले गुण्डा लगाएर ज्यान मार्ने धम्की दिएको भनी गत ४ गते सीडीओ कार्यालयमा उजुरी परेको समाचार आर्थिक दैनिकले दिएको थियो । उक्त समाचारपछि पोख्रेलले सम्पादकलाई फोन गरेका थिए र दोकानीयाँको कुरा स्पष्ट पार्न आउने कुरा बताएका थिए । तर उनी आएनन् र दिन बित्दै जाँदा उनले फोन समेत उठाउन छाडेपछि यसको रहस्य खोज्दै जाँदा उनले थप समाचार रोकाउनको लागि मात्र फोन गरेको कुरा खुल्दै गएको छ ।
आर्थिक दैनिकमा उक्त समाचार छापिएपछि दोकानीयाँले मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयललाई लिएर सीडीओ कार्यालयमा पुगेर त्यसअघिको निर्देशन र मो. इद्रिसको उजुरी निष्क्रिय पारेको बताउनथालेका छन् र पीडित इद्रिसलाई थाहै नदिई उसले गरेको कामको आफ्ना मानिसहरुलाई राखेर एकतर्फी फेरि नापजाँच गर्ने आफूखुसी निर्णय गरेका छन् ।
उपेन्द्र यादवनिकट समाजवादी ट्रेड युनियनको कार्यालयमा गत आइतबार दोकानीयाले तिनै सुर्ती व्यापारी सुरेश पोख्रेल, अर्जुन न्यौपाने, सुरज दाहालसँग बसेर ई. शिव घिमिरेलाई इद्रिसले रंगरोगन गरेको घरको क्षेत्रफलको एकतर्फी रुपमा नापजाँच र मूल्यांकन गर्न लगाउने निर्णय गरेका हुुन् । यो के गरिदिएको हो भनी प्रश्न गर्न सुर्ती व्यापारी पोख्रेलको मोबाइल नम्बरमा पटक–पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।