काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंदेखि नारितासम्मको उडानमा वृद्धि गर्ने भएको छ । सातामा दुईवटा उडान गरिरहेको निगमको मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीनवटा उडान सञ्चालन गर्ने भएको हो ।
उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा एक सय ४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा एक सय २० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ । जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्नुपरेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको निगमको भनाइ छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित बिजनेस क्लासमा एक लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा एक लाख १९ हजार सात सय रुपैयाँ भाडादर कायम गरिएको छ ।
यस्तै निगमले तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकटहरु बिक्रीवितरण गरेको गुनासो प्राप्त भएकोले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्रीवितरण गरेको पाइएमा नियमानुसार कारबाही गर्ने पनि जनाएको छ । यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रुहरुलाई प्रमाणसहित निगममा उजुरी गर्न आग्रह गरिएको छ । काठमाडौं–नारिता सेक्टरमा सिट संख्या बढाउन नेपालस्थित जापानी राजदूतावासलाई अनुरोध गरिसकिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । नारिता–काठमाडौं सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको छ । काठमाडौं–नारिता सेक्टरमा माग अत्यधिक रहेको तर सीमित सिट संख्यामा उडान गर्नुपर्ने र मागबमोजिमको आपूर्ति हुन नसकेको कारणले यात्रुहरुमा पर्न गएको असुविधा निगम माफी समेत मागेको छ ।