काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३५ बिन्दुले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १५ दशमलव दुई अंकले ओरालो लागेर २३ सय ७० दशमलव ९९ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ९५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २५ हजार सात सय ६६ पटकको कारोबारमा ३४ लाख १९ हजार दुई सय २८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार आज कुल सेयर कारोबार रकम एक अर्ब चार करोड ६० लाख १४ हजार चार सय १७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक घटेका छन् ।