टोक्यो । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने तानाकाको मृत्यु भएको हो ।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नर्सिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउँथे भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्थिन् । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थे । उनी वयष्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।
उनले ठीक एक शताब्दीअगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् । खेलकुदमा निकै रुचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।