काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनवा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टा–पे सुविधामार्फत इलेक्ट्रोनिक ओकिनवा स्कुटर शून्य प्रतिशत ईएमआई पाउने व्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा बीएचसी इन्टरनेसल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लिराम गिरीले हस्ताक्षर गरेका थिए । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवं वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
बीएचसी इन्टरनेसनलसँगको सम्झौतापछि बैंकका ग्राहकहरूले छदेखि १८ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टा–पेमार्फत ओकिनवा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इस्टा–पेबाट पाउन सक्नेछन् । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरूले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बीएचसी इन्टरनेसल प्रालिको नेपालस्थित सबै शोरुममार्फत प्रदान गरिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६४ वटा शाखाहरू र एक सय ६५ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउन्टर समेत गरी जम्मा तीन सय ३७ स्थानबाट १३ लाखभन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सय पाँचवटा एटीएमहरू सञ्चालनमा रहेको छन् ।