काठमाडौं । दैलेखको भैरवी गाउँपालिकामा ३० दिने मेसिन होजियारीसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, मानव संसाधन विकास केन्द्र सुर्खेतको आयोजना तथा भैरवी गाउँपालिकाको समन्वयमा पालिकाका २० जना युवाहरुलाई प्रदान गरिएको ३० दिने मेसिन होजियारीसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको हो ।
बेरोजगार युवायुवतीहरुलाई रोजगारीको अवसर सृजना गर्दै आयस्रोतमा वृद्धि गराउने उद्देश्यले पालिकाका वडा नम्बर ४, ५, ६ र ७ का युवाहरुलाई सीप विकास तालिम प्रदान गरिएको भैरवी गाउपालिकाले जनाएको छ । तालिमको समापन गर्दै सामजिक विकास मन्त्रालय मानव संसाधन विकास केन्द्र वीरेन्द्रनगर सुर्खेतका लेखा शाखा अधिकृत ओम प्रसाद चालिसेले बेरोजगार युवायुवतीहरुलाई रोजगारीको अवसर सृजना गर्दै आय स्रोतमा वृद्धि गर्न उक्त तालिमले सघाउ पुग्ने बताए । भैरवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष डिल्लीराम पुरीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्नतर्फ जागरुक हुन तालिमका सहभागीहरुलाई सुझाव दिए ।
तालिममा मफलर, स्कुल डे«सको स्विटर, हाइनेक स्विटरलगायतका अन्य उनबाट बन्ने लुगा, कपडाहरु तयार बनाउन सिकाइएको प्रशिक्षक किशोर अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी दिनमा तालिममा सहभागीहरुको मागअनुसार सहभागीहरुलाई स्तर उन्नति (लेबल अप)को तालिम समेत तत्कालै दिने प्रक्रियामा लागिपर्ने बताइएको छ ।