काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल -याडिसनमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरेको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृति दिएको छ ।
सभामा अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले सो विषयलाई अवसरको रूपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको बताए । उनले आगामी दिनमा कम्पनीका सेवाहरू अझ चुस्त, छिटो छरितोरूपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।
कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरू, कम्पनीप्रति विश्वास र भरोसा गर्ने समस्त बीमितहरू, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनी, अभिकर्ताहरू, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरू सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।
सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।