काठमाडौं । काठमाडौं महानगरपालिकामा नगरप्रमुखको उम्मेदवार एवं कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरलाई रुपान्तरण गर्ने सात ‘स’को संकल्प सार्वजनिक गरेकी छिन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवार बनेकी उनले बिहीबार एक कार्यक्रमका बीच आफू नगरप्रमुख भएपछि गर्ने सात संकल्पलाई सार्वजनिक गरेकी हुन् ।
उनले सार्वजनिक गरेको सात संकल्पमा सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा कामपालाई अघि बढाउने, संघीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने उल्लेख छ । यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनर्स्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनले बताइन् ।
सिंहले स्वच्छ, सफा, दिगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो बेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनर्स्थापना तथा विस्तार गर्ने संकल्प गरेकी छिन् । यस्तै सुरक्षित सहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्नसक्ने सहरको निर्माण, विपत् थेग्नसक्ने क्षमतायुक्त सहरको निर्माण गर्ने उनको संकल्प छ ।
संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा संवर्द्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने उनले उल्लेख गरेकी छिन् । सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने, महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने, महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत–सम्भारका लागि अविलम्ब कार्य गर्नसक्ने गरी संस्थागत क्षमताको विकास गर्ने संकल्प समेत गरेकी छिन् ।
त्यस्तै सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरवासी बनाउन उनले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरवासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिनुका साथै उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने बताएकी छिन् । सिंहको सात ‘स’को संकल्प सार्वजानिक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंभित्रको देखिएको बेथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिए । ‘सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्’, उनले भने ।
कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भिडभाड कम गर्न फुटपाथको व्यवस्थापन गर्न र फोहोरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरे पनि काठमाडौंका जनताले राहत पाउने बताए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गरे । नेता महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेतृलाई कांग्रेसले महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको बताइन् । कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, पूर्वसभापति एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, कांग्रेस काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्यलगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गरे ।