काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका एक हजार तीन सय ४५ सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताहरूले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरूको प्रशंसा गरे । उनले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बीमाक्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरूलाई निरन्तरता दिने बताए ।
सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक आठ अर्ब २१ करोड रहेको छ भने लगानी एक खर्ब ३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष एक खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । दुई लाख तीन हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुई सय दुई कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेसनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षकमार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरूका लागि व्यापार लक्ष्यसहितको स्किम ल्याउने जानकारी गराए । नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवादज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार पाँच सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना,
सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरूले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरूको भनाइ रहेको थियो ।