काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेस्टुरेन्ट एन्ड थकाली घरबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् उक्त बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेस्टुरेन्ट तथा बारका विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिपबेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।