जापान । कार निर्माता निसानले ड्याट्सन नामबाट कार उत्पादन रोक्ने भएको छ । ड्याट्सनको नाममा सय वर्ष लामो इतिहास जोडिन्छ । दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रुपमा यो नामबाट जापानी कार स्थापित भएको थियो । दशौँ लाख कारहरु यही नामबाट विश्वमा बेचिए पनि सन् १९८० को दशकपछि यो नाम फेजआउट गरिएको थियो । फेरि तीन दशकपछि कम्पनीले यो नामबाट कार उत्पादन थालेको थियो । निसानको डीएनएको महत्वपूर्ण अंग भन्दै कम्पनीले नयाँ रेन्जका कार उत्पादन गरेको थियो ।
सोमबार निसानका प्रवक्ता अजुसा मोमोसेले कम्पनीले ड्याट्सनको सेयर बिक्रीलाई निरन्तरता दिने बताउँदै मौजुदा कारहरुको बिक्रीपछिको सेवालाई निरन्तरता दिने बताएको उल्लेख गरे ।
‘हामी अहिलेका र भविष्यका ड्याट्सन ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँछौँ’, उनले भनिन् । ड्याट्सन ब्रान्डनामअघि सन् १९१४ मा बनेको कारको नाम ड्याट थियो । जुन टोक्योमा काइशिन्शा मोटरकार वक्र्सले उत्पादन गरेको थियो । डीएटी अर्थात् ड्याट सुरुवाती तीन लगानीकर्ता व्यवसायीको नामबाट थियो । तिनमा थिए डेन, आयोमा र ताकेउची । यसको अर्थ जापानी भाषामा छिटो बल्ने भन्ने हुन्छ । त्यही बेला यसलाई ड्युरेबल, अट्राक्टिभ र ट्रस्टवर्थी अर्थात् ड्याटका रुपमा प्रवर्द्धन गरिएको थियो ।
सन् १९३३ मा निसानका संस्थापक योशिसुके आईकावाले व्यवसाय आफूले लिए । सन् १९३० को सुरुतिर कम्पनीले ड्याट–सन वा ड्याटको छोराको रुपमा हलुका कार सार्वजनिक ग-यो । पछि यसको नाम ड्याट्सन राखियो ।
ड्याट्सन त्यस्तो कार ब्रान्ड बनेको थियो जसले जापानी कार उत्पादकलाई युरोप, अमेरिका र एसियामा दोस्रो विश्वयुद्धपछि स्थापित हुन मद्दत मिल्यो । यही मुख्य ब्रान्डलाई निसानले विश्वभर बिक्री गरेको थियो । सँगसँगै उसले निसान र विलासी इन्फिनिटी पनि मुख्य ब्रान्डको रुपमा बिक्री गरेको थियो ।
सन् १९७० को दशकमा कम भरपर्दो ग्यास गजलर्सको विकल्पमा इन्धन पर्याप्ततायुक्त ड्याट्सन हरेक गाडीपारखीको रोजाइ बन्यो । त्यतिखेर १९० देशमा विश्वभर दुई करोड ड्याट्सन कार बिक्री भएको थियो ।
यद्यपि सन् १९८१ मा यसको नाम फेज आउट गरिएको थियो । त्योसँगै निसान कम्पनीको मुख्य ब्रान्ड बनेको थियो । सन् २०१२ मा निसानले ड्याट्सन ब्रान्डलाई फेरि ब्युँताएको थियो । त्यही नाममा भारत र इन्डोनेसियाजस्ता देशमा कारहरु बिक्री गरिएको थियो । त्यतिबेला निसानको युरोप र अमेरिकी बजार कमजोर भएको थियो । सोही कारण उसले उदाउँदो अर्थतन्त्र र कम मूल्यका मोडलमा जोड दियो । यसका बाबजुद बितेका वर्षहरुमा यी मोडल पनि राम्ररी बिक्री भइरहेका थिएनन् ।
गत सोमबार भने निसानले अब मुख्य मोडल र सेग्मेन्टमा ध्यान केन्द्रित गर्दै ग्राहक, डिलर साझेदार र व्यवसायलाई धेरैभन्दा धेरै फाइदा ल्याउने बताएको छ । यो निसानको विश्वव्यापी रुपान्तरणको रणनीति भएको निसानले जनाएको छ ।