विराटनगर । मुलुक निर्वाचनमय भइरहेको अवस्थामा कपडालगायत सटिङ सुटिङको अवैध लाइन चलाउनेहरूका लागि अहिले सुवर्ण अवसर भएको छ । भन्सारलगायत राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज वातारण बनाउन लागि परेको जस्तो महसुस पछिल्लो समय गर्न थालिएको छ ।
नेपाल र भारतबीचको खुला सीमा नाकामा रहेका सशस्त्र प्रहरीका बीओपी समेत मुकदर्शक बन्न थालेपछि विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाका बेलुका ८ बजेपछि प्रहरीकै सेटिङमा कपडा तस्करीका हुने गरेको छ । कपडा व्यापारीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नदिएको निहुँ बनाएर अवैधरूपमा कपडा आयातको धन्दा गर्नेसँग कपडाको माग गर्न थालेपछि चुनावको सरगर्मीसँगै अवैध बाटो हुँदै कपडाको आयात बढेको हो । रात पर्नासाथ विराटनगर भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका अवैध कपडा आयातका लागि प्रमुख केन्द्र बन्न थालेको छ । स्रोतका अनुसार विराटनगरको माहावीर रोडमा कपडाको व्यापार समेत गर्दै आएका कपडा व्यवसायी सन्जित भगत लामो समयदेखि विभिन्न ब्राण्डका कपडा तथा सटिङ सुटिङको अवैधरूपमा कारोबार गर्दै आएका छन् । उनी पटक–पटक राजस्वको कारबाहीदेखि भन्सारभित्र समेत सेटिङ मिलाएर कपडाको आयात गर्दै आएको पाइएको छ ।
पछिल्लो समय सरकारले कपडा आयातका लागि बैंकमा एलसी समेत खोल्न नदिएको भन्दै भन्सारको बाटो भएर कपडाको आयात ठप्प भएको छ । सोही मौका छोपेर तस्करहरूले भारतीय सीमानाका जोडिएको इस्लामपुर भारतीय नाका भएर कपडा तस्करी गरिरहेको छन् । पछिल्लो समय भगतले समेत सोही नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ मिलाएर व्यापकरूपमा कपडाको अवैध आयातलाई तीव्रता दिएको दाबी स्रोतले गरेको छ । दिनभरि सुनसान देखिने इस्लामपुर नाका राति ८ बजेपछि गुल्जार बन्ने गरेको दाबी पनि स्थानीय बासिन्दाको छ । यस्तै करिब एक पुस्ता कपडाकै अवैध कारोबार गरेर बिताइसकेको शारदा प्रसाद अग्रवाल समूहको नेतृत्व गर्दै आएका अमर जलान उर्फ बब्लु अग्रवालले समेत प्रहरीकै सेटिङमा अवैध बाटो हुँदै कारोबारलाई तीव्रता दिइरहेका छन् । यी दुवै कपडाको कारोबार गर्ने कारोबारीले मासिकरूपमा मात्र एक अर्बभन्दा बढीको अवैधरूपमा कपडा आयात गरी प्रदेश १ मा रहेको पूर्वी बजारका मुख्य–मुख्य सहरमा पु-याउने गरेको पनि स्रोतले दाबी गरेको छ ।
सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ अहिले कपडा व्यापारी भगत र जलानको कारोबारले तीव्रता लिएको बताइन्छ । कपडा व्यापारी भगत भन्सार सेटिङदेखि पूर्वी बजारमा कपडाको कारोबारीमा चर्चित बनेका छन् भने व्यवसायी जलान करिब एक दशकदेखि कपडाको अवैध कारोबार गर्दै आएका व्यवसायी भएको जानकारहरूले बताएका छन् । दुवै भगत र जलानले सरकारी निकायका माथिल्लो दर्जामा आसीन उच्च ओहोदाका व्यक्तिहरूको सेटिङमा नै आफ्नो अवैध कारोबारलाई निरन्तरता दिँदै आएको छन् । उच्च ओहोदामा सेटिङ भएपछि तल्लो तहमा कार्यरत सुरक्षाकर्मी समेत निरीह बनेर मुकदर्शक बनेको व्यवसायीले नै बताउन थालेका छन् ।
व्यापारी भगत बेला–बेला राजस्व अनुसन्धानको दायरा परे पनि व्यवसायी अग्रवाल भने अहिलेसम्म कुनै निकायको नियन्त्रणमा नपरेको जानकार व्यवसायीले बताएका छन् । अहिले मुलुक चुनावमय भएसँगै विराटनगरलगायत झापा, इटहरीदेखि धरानसम्मका व्यापारीको कपडा व्यवसायी भगत र अग्रवालले नै अवैध बोटो हुँदै आयात गर्नेगरेका छन् । पछिल्लो समयमा प्रदेश १ का सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर भगत र अग्रवालले नै कपडा ल्याइदिन थालेका छन् ।