जकार्ता । इन्डोनेसियाले पाम तेल निर्यातमा पूर्ण प्रतिबन्ध लगाउन सुरु गरेको छ । गत बिहीबारदेखि इन्डोनेसियाले प्रतिबन्ध कार्यान्वयन थालेको हो ।
इन्डोनेसिया विश्वकै ठूलो पामजन्य निर्यातकर्ता देश हो । पछिल्लो निर्णयसँगै विश्व खाद्य तेलबजारलाई अस्थिर बनाउने आकलन गरिएको छ । यसले मूल्यवृद्धि उच्च हुने चिन्ता पनि बढेको छ ।
खाद्य तेलको घरेलु आपूर्ति नै धान्न नसकेपछि इन्डोनेसियाले विदेश निर्यातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाएसँगै देशभित्रको आपूर्तिमा सुधार हुने त्यहाँको सरकारले आशा गरेको छ ।
योसँगै इन्डोनेसियाले कच्चा पाम तेलसमेत निर्यात नगर्ने भएको छ । देशका २७ करोड जनतालाई तेल निर्यात गर्नु मुख्य प्राथमिकता भएको त्यहाँको सरकारले जनाएको छ । इन्डोनेसियाले विश्वको पाम तेलको ६० प्रतिशत हिस्सा ओगटेको छ । त्यसको एक तिहाइ तेल घरेलु बजारमै खपत हुने गरेको छ । भारत, चीन, पाकिस्तान र युरोपेली संघ यसका मुख्य निर्यात गन्तव्य हुन् ।
पछिल्लो समय इन्डोनेसियामा महिनौँ लामो अभाव सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य बढ्दा धेरै नाफा हुने अवस्था आएको थियो । यसले घरेलु बजार भने प्रभावित हुनपुगेको थियो । घरेलु बजारमा सहज भएपछि पुनः निर्यात गर्ने त्यहाँको सरकारको भनाइ छ ।