नयाँ दिल्ली । विद्युतीय स्कुटर कम्पनी ओला इलेक्ट्रिक मोबिलिटीले बजारमा बिक्री गरेका स्कुटरहरु धमाधम फिर्ता लिनथालेको छ । जापानको चर्चित बैंक सफ्टबैंक लगानीकर्ता रहेको महत्वाकांक्षी कम्पनीका स्कुटरमा प्राविधिक गडबडी पाइएपछि ठूलो संख्यामा स्कुटर फिर्ता लिनुपरेको हो ।
यो हप्तामात्रै कम्पनीले एक हजार चार सय ४१ स्कुटर फिर्ता लिनुपरेको थियो । गत मार्च २६ मा पुनेमा एक ग्राहकको स्कुटरमा एक्कासि आगलागी भएको थियो । सोही कारण कम्पनी निश्चित ब्याचका स्कुटर फिर्ता लिन बाध्य भएको बताइएको छ । आइतबार कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त घटना छुट्टै भए पनि निश्चित ब्याचका स्कुटरको परीक्षण गर्ने जनाएको हो ।
कम्पनीका इन्जिनियरहरुले स्कुटरको सम्परीक्षण गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक भाविष अग्रवालले बताए । भारतमा ओलाका मात्रै नभई अन्य कम्पनीहरु ओकिनावा र प्योर ईभीका स्कुटरमा पनि आगलागीका घटना भएका छन् ।
ओलाको ठूलो कारखाना तमिलनाडुमा रहेको छ । कारखानामा धेरैजसो काम रोबोटले नै गर्ने गर्छ । रोबोटले द्रुतगतिमा स्कुटरका पार्ट ट्रान्सपोर्ट गर्छ भने सँगसँगै वेल्डिङका काम पनि छिटो गर्छ । यो कारखाना पाँच सय एकडमा फैलिएको छ । कम्पनीमा धेरैजसो महिला कामदार रहेका छन् ।