काठमाडौँ । नेपाल हस्तकला महासंघ, मानुषी संस्था र सोवाको आयोजनामा महिला उद्यमी, व्यवसायी र कलाकारहरुका लागि एक दिने बृहत् महिला स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा आयोजना भएको स्वास्थ्य परीक्षण कार्यक्रममा एक सय महिला उद्यमीहरुले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए ।
सोवाले निःशुल्क स्वास्थ्य परीक्षणपछिको ल्याब, अल्ट्रासाउण्डजस्ता परीक्षणमा करिब ५० प्रतिशत सहुलियत प्रदान गरिएको थियो । कार्यक्रममा डा. टिका गुरुङ र डा. सानिमा डंगोलले महिलाहरुको स्वास्थ्य जाँच र परामर्श दिएका थिए । स्वास्थ्य जाँच कार्यक्रममा आरम्भ गर्दै मानुषीकी अध्यक्ष पद्मासना शाक्यले स्वस्थ उद्यमी महिलाले मात्र परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बताइन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको हस्तकला क्षेत्रमा महिलाको सहभागिता उच्च रहेकोले महिला स्वस्थ्यलाई पनि प्राथमिकता दिँदै समाजप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे । सोवाका सीईओ विपिन्द्र प्रधानले यो स्वास्थ्य केन्द्रले गुणस्तरीय सेवा सहुलियत मूल्यमा दिँदै आएको जानकारी गराएका थिए ।