विराटनगर । सरकारले गत हप्तादेखि लागू हुनेगरी विलासीका वस्तु आयातमा रोक लगाएपछि स्वदेशमा नै उत्पादन गर्दै आवश्यकताअनुसारको उत्पादन बजार पठाउँदै आएका स्वदेशी उद्योगका उद्योगीले विदेशी आयात रोक्न माग गर्न थालेका छन् । उनीहरूले देशको आर्थिक अवस्था संकटतिर धकेलिरहेको यो अवस्थामा सरकारले अर्थतन्त्र सुधारका लागि अब स्वदेशमै उत्पादन हुने वस्तु संरक्षणका लागि पनि पहल गर्नुपर्नेमा उद्योगीले जोड दिन थालेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी मोबाइल फोनदेखि गाडी, कुरकुरेसम्मको आयातमा प्रतिबन्ध लगाएको छ । छ सय अमेरिकी डलरमाथिका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना, कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा आयातमा रोक लगाएपछि स्वदेशमा उत्पादन गर्दै आएका साबुन उद्योगलाई सरकारी संमरक्षण आवश्यकता भएको भन्दै नेपाल साबुन उत्पादक संघले साबुन उत्पादनका नाममा आयात हुँदै आएको कच्चापदार्थ पनि पूर्णरूपमा रोक्न माग गरेको छ ।