काठमाडौं । एनएमबी बैंक लिमिटेडले योयो जिपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काइ साइक्लिङ, जिपलाइन, स्विङ, केनोपि र रेस्टुरेन्ट एन्ड कफी सपको सेवामा छुट प्रदान हुनेगरी सम्झौता गरेको छ । बैंकका ग्राहकहरूले उक्त सेवाहरूको भिजा कार्डमार्फत भुक्तानी गर्दा बिदाको दिनबाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोसन रेग्मी र योयोको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको एनएमबी भिसाकार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबीले दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दिइयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३८ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ४२ करोड ७२ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा स्प्रेड दर तीन दशमलव ५४ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ४८ करोड ९२ लाख ८६ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब ५१ अर्ब एक करोड ४१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३७ प्रतिशत रहेको थियो ।