काठमाडौं । मुक्तिनाथ विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल थप भएको छ । बैंक सञ्चालाक समितिको मंगलबार बसेको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । बैंकका अनुसार उनले यसअघि २०७५ जेठ एक गतेबाट प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए । सोही आधारमा पोखरेलको प्रमुख कार्यकारीको रूपमा दोस्रो कार्यकाल २०७९ जेठ एक गतेबाट सुरु हुनेछ ।
नेपाली बैंकिङ क्षेत्रमा विगत तीन दशकदेखिको अनुभव संगालेका पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी विसं २०७३ मंसिर १९ गतेबाट नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा मुक्तिनाथ विकास बैंकमा प्रवेश गरेका थिए । हाल पोखरेल विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष समेत रहेका छन भने नेपाल व्यवस्थापन संघको कार्यकारीणी समितिमा समेत रहेका छन् ।