ब्रसेल्स । युरोपेली संघले रुसमाथि अझै कडा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा आक्रमण गरेको रुसले सम्भावित युद्ध अपराध गरेको भन्दै रुसी तेल पूर्णरुपमा प्रतिबन्ध लगाउने ईयूले प्रस्ताव गरेको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियनले युरोपलाई कम क्षति र रुसलाई धेरै दबाब सिर्जना गर्ने गरी नयाँ प्रतिबन्ध लगाइने बताइन् । उनका अनुसार आगामी छ महिनाभित्र रुसी कच्चा तेलमाथि युरोपमा पूर्ण प्रतिबन्ध लाग्न सक्नेछ । त्यस्तै युक्रेनमा रुसी सेनाका कमान्डरहरुले शंकास्पद युद्ध अपराध गरेको हुनसक्ने भन्दै उनीहरुमाथि छुट्टै प्रतिबन्धको तयारी गरिएको छ । खासगरी बुचा र मरिउपोलमा यस्तो आशंका गरिएको छ ।
‘यसले क्रेमलिनको युद्धका पक्षपोषकहरुलाई अर्को महत्वपूर्ण संकेत दिएको छ’, लियनले बुधबार युरोपेली संसदमा भनिन्, ‘हामीलाई थाहा छ तिमीहरु को हौ ? तिमीहरुलाई जिम्मेवार बनाइनेछ ।’
ईयूले कैयौँ सातायता रुसी तेल र ग्यासलाई निशाना बनाउन ध्यान केन्द्रित गर्दै आएको छ । यसअघि नै रुसी तेल र ग्यास आयात परिमाण कटौती गरिसकेको छ । अब भने ईयूले छ महिनाभित्र कच्चा तेल र यो वर्षको अन्त्यसम्म प्रशोधित तेलको पूर्ण आयात रोक्ने तयारी गरेको छ ।