काठमाडौं । ट्राभल रियालिटी सो ’इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता निर्देशक टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो सात जनाको टोलीसँग नेपालका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् । प्रदेश १ बाट टिम सहाना, मधेश प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानषी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुड रहेका छन् ।
पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक यु–ट्युब च्यानलबाट १० बजे प्रसारण हुनेछ । यस ट्राभल रियालिटी सोमा भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन् । यात्राका रोमाञ्चक कथाहरूसँगै १६ फरक एपिसोडको रूपमा टेलिभिजनमार्फत प्रसारणमा गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लाखौं मानिसहरूमा पुग्ने आशा राख्दै निर्माण टिमले यस सोलाई दर्शकमाझ ल्याएका हुन् । नेपाललाई जनताले हेर्ने तरिकामा हाम्रो यात्राले पक्कै परिवर्तन गराउने टिमको अपेक्षा रहेको छ ।
सन् २०१६ देखि इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अद्भुत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको छ । यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी सोको ढाँचा लिएको हो ।