दुबई । युक्रेनमाथि आक्रमणपछि रुसी धनाढ्यहरुको रोजाइ मध्यपूर्वको दुवई बन्न थालेको छ । खासगरी पश्चिमा देशले प्रतिबन्धको वर्षा नै गरेपछि उनीहरु त्यसलाई छल्न दुवईलाई गन्तव्य बनाइरहेका छन् ।
रुसी अर्बपतिहरु र उद्यमीहरु संयुक्त अरब इमिरेट्स (यूएई)मा आउने क्रम जारी रहेको छ । यो संख्या निकै धेरै रहेको बीबीसीले उल्लेख गरेको छ । योसँगै सन् २०२२ को पहिलो तीन महिनामा रुसीहरुले सम्पत्ति खरिद गर्ने क्रम समेत ६७ प्रतिशतले बढेको छ ।
यूएईले रुसमाथि कुनै पनि प्रतिबन्ध लगाएको छैन भने युक्रेनमाथिको आक्रमणलाई लिएर कुनै आलोचनात्मक टिप्पणी समेत गरेको छैन । यूएईले प्रतिबन्ध नलागेकाहरुलाई भिसा समेत दिइरहेको छ । जसलाई कतिपय देशले कडाइ गरिरहेका छन् । बितेको दुई महिनायता सयौँ हजार रुसीले देश छोडेको अनुमान छ । एक रुसी अर्थशास्त्रीले युक्रेनमाथि आक्रमण सुरु भएको १० दिनमै दुई लाख रुसी नागरिकले देश छोडेको बताए ।
दुवईमा सेवा सञ्चालनको बन्दोबस्तीमा कम्पनीहरुलाई सघाउने भच्र्युजोनले रुसी ग्राहकको संख्या ह्वात्तै बढेको बताएको छ । ‘आक्रमणपछि रुसीहरुबाट जानकारी खोज्नेक्रम पाँच गुणाले बढेको छ’, कम्पनीका प्रमुख कार्यकारी जर्ज होजेइगेले भने, ‘उनीहरु आगामी दिनमा आउने अर्थतन्त्रका खराब अवस्थाबारे चिन्तित छन् । त्यही कारण उनीहरु आफ्नो सम्पत्तिको सुरक्षाका लागि यहाँ आइरहेका छन् ।’
रुसीहरुको आगमनपछि यूएईमा भिल्ला र अपार्टमेन्टको माग समेत ह्वात्तै बढेको छ । सहरभर नै यसले सम्पत्तिको मूल्य बढाएको घरजग्गाका एजेन्टहरुको भनाइ छ । यहाँ आउने रुसीहरुले घर किन्न चाहिरहेको बताइएको छ । दुवईमा रहेको घरजग्गासम्बन्धी संस्था बेटरहोम्सले यो वर्षको पहिलो तीन महिनामा रुसीहरुको खरिद दुई तिहाइले बढेको बताएको छ ।
अर्को घरजग्गासम्बन्धी एजेन्सी मोडर्न लिभिङले पनि बढ्दो माग धान्न रुसी भाषा बोल्नसक्ने एजेन्टहरु लिएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी दियागो काल्डासले रुसीहरुले दुवईमा तुरुन्त आउन चाहेको बताउने गरेका छन् ।
‘यहाँ आउने उनीहरु केवल लगानी गर्न चाहिरहेका छैनन्, दुवईलाई दोस्रो घर बनाउन चाहिरहेका छन्’, उनले भने । रुसीहरु त आइरहेकै छन्, धेरै बहुराष्ट्रिय कम्पनी र रुसी स्टार्टअपहरु समेत रुस छोडेर यूएईमा आइरहेको बताइएको छ ।